होमसमाचारपूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

एजेन्सी

इस्लामावाद: पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मंगलबार मृत्युदण्डको सजाय सुनाइएको छ। पाकिस्तानको विशेष अदालतले देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको हो।
पाकिस्तानको इतिहासमै पहिलोपटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो। तीन सदस्यीय न्यायाधीशको इजलासले मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गरेको छ।
उनीविरुद्ध सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेर देशद्रोह गरेको मुद्दा लगाइएको थियो। सन् १९९९ मा तत्कालीन सेनाप्रमुख मुशर्रफले विनारक्तपात नवाज शरीफबाट सत्ता हातमा लिएका थिए। पेसावरको उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शहीद करिमको संयुक्त इजलासले मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाएको हो।
विशेष अदालतले अघिल्लो महिना नै डिसेम्बर १७ मा अन्तिम फैसला गर्ने तय गरेको थियो। देशद्रोहको यो मुद्दा सन् २०१३ को डिसेम्बरदेखि बल्झिँदै आएको थियो।
मुशर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए। विशेष अदालतले नोभेम्बर २८ मा मुशर्रफलाई आफ्नो बयान पेस गर्न डिसेम्बर ५ सम्मको समयसीमा दिएको थियो।
मुशर्रफ भने सन् २०१६ देखि स्वेच्छिक निर्वासनका क्रममा दुबईमा छन्। उनले उपचारका लागि दुबई बस्नुपरेको बताउँदै आएका छन्। उपचार भइरहेकाले स्वदेश फर्किन नसक्ने उनको भनाइ छ। उनले आफूले दुश्मनविरुद्ध भएमो युद्धको नेतृत्व गरेकाले देशविरुद्ध गद्दारी गर्ने विषय सोच्न पनि नसकिने दाबी गरेका छन्।

फाँसी किन ?
संकटकाल लगाउनु पाकिस्तानी संविधानअनुसार दण्डनीय अपराध भएको जिकिर गरिएको छ। सन् २००७ मा संविधान निलम्बन गरेको र देशमा संकटकाल लागू गरेको हुनाले फाँसी दिनुपरेको अदालतले स्पष्ट पारेको छ। पकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) पार्टीको सरकार सत्तामा आएपछि डिसेम्बर २०१३ मा मुशर्रफविरुद्ध राजद्रोहको मुद्दा दायर गरिएको थियो। मुशर्रफ कारगिल युद्धका बेला पाकिस्तानका सेनाप्रमुख थिए। कारगिल युद्ध भारत र पाकिस्तानबीच भएको थियो र
सन् १९९९ को १२ अक्टोबरमा श्रीलंका भ्रमणमा रहेका तत्कालीन सेनाप्रमुख मुशर्रफलाई तत्कालीन प्रधानमन्त्री शरीफले बर्खास्त गरेका थिए। प्रधानसेनापतिमा जनरल अजीज नियुक्त भएका थिए। प्रधानसेनापति भएपछि अजीजले सेनाको मर्यादाक्रम मिच्न नहुने भन्दै मुशर्रफलाई साथ दिएका थिए। शरीफ सरकारले मुशर्रफ स्वदेश फर्किंदा उनको विमानलाई विमानस्थलमा अवतरण गर्न दिएको थिएन। बर्खास्त भइसकेका हुनाले विदेशी भूमिमा अवतरण गर्न नदिने र इन्धन सकिएपछि विमान आकाशमै ध्वस्त हुने योजना शरीफको थियो।
मुशर्रफ चढेको विमान पाकिस्तानी आकाशमा करिब दुई घण्टासम्म घुमेको थियो। विमानमा इन्धन सकिन थालेपछि पाकिस्तानी सेनाले विमानस्थलमा घेरा हालेर मुशर्रफलाई आपत्कालीन अवतरण गराएको थियो। इस्लामाबाद पुग्नासाथ मुशर्रफले प्रधानमन्त्री शरीफ र उनका मन्त्रीहरूलाई बन्दी बनाएर सैनिक शासन लागू गरेका थिए। केही समयपछि उनले आफूलाई राष्ट्रपति घोषित गरे।
विमान अपहरण गरी आतंकवाद फैलाएको भन्दै मुशर्रफले शरीफलाई पक्राउ गरेका थिए। त्यसपछि शरीफलाई सपरिवार साउदी अरब निर्वासनमा पठाइएको थियो।
मुशर्रफलाई मृत्युदण्ड दिने फैसलाको पाकिस्तानी सेनाले विरोध गरेको छ। मुशर्रफले आफू बाँच्न मात्र होइन, मुलुकलाई संकटबाट बचाउन तत्कालीन नेतृत्वलाई अपदस्थ गरेर सैन्य शासन लगाएको ठहर सेनाको छ।

मुशर्रफको नेपाल भ्रमण
सन् २००२ मा सार्कको एघारौं शिखर सम्मेलनमा नेपालमा भएको थियो। त्यति बेला पाकिस्तानका राष्ट्रपति मुशर्रफ चार्चका केन्द्रबिन्दु थिए। शिखर सम्मेलनको सबै तयारी रहँदा मुशर्रफ नेपाल आउने–नआउने अन्योल कायमै थियो। भारत र पाकिस्तानको तिक्ततापूर्ण सम्बन्धका कारण मुशर्रफ नेपाल आउन भारतको आकाश प्रयोग गर्न सक्दैनथे। उनी चिनियाँ आकाश हुँदै काठमाडौंमा अवतरण गरेका थिए। शिखर सम्मेलनमा उपस्थित तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी बाजपेयीसँग उनले देखाएको सम्मान र संवादले विश्वको ध्यान खिचेको थियो। त्यो घटनाले सार्क शिखर सम्मेलन नै ओझेलमा परेको थियो। तत्कालीन प्रधानमन्त्री एवं सार्कका अध्यक्ष शेरबहादुर देउवा शिखर सम्मेलन गर्न सफल ठहरिएका थिए। भारत–पाक द्वन्द्वका कारण शिखर सम्मेलन एक दिन ढिलो गरी शुरु भए पनि दुई देशबीच वार्ता हुनु सकारात्मक थियो।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular