काठमाडौँ : अहिले धर्म भनेको केही होइन भन्ने चर्चा खुबै गरिन्छ। यही वर्गको एकछत्र राज छ। यही तप्काले फेरि धर्मलाई प्रभावित पार्न कसरी बाध्य पार्छ भन्ने कुराको एउटा उदाहरण यहाँ छ।
थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस) छ। यसका तत्कालीन महामन्त्री राजकुमार लेखीले सबै थारूले बौद्ध धर्मावलम्बी लेख्नुपर्ने भनेर निर्णय गरे। लेखी एमालेका नेता र मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री पनि हुन्।
उनकै सुझावमा पूर्वका थारूले बौद्ध लेखे। यसकै आधारमा कतिपयले थर नै बदलेर शाक्य लेख्दै छन्। केहीले त बुद्ध जन्मिएको मितिको आधारमा थारू संवत् पनि चलाउन थालिसके। पश्चिमका थारूले राजकुमार लेखीको आदेश मानेनन्।
फेरि राज्यकै निकाय आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले जनजाति भनेको हिन्दू धर्मावलम्बी हुनै सक्दैनन् अर्थात् हिन्दू धर्मावलम्बी आदिवासी पनि हुन सक्दैनन् र जनजाति हुनै सक्दैनन् भन्ने परिभाषा गरेको छ।
थारूहरूले अहिले पनि मानापाथी भर्दा एक, दुई नभनी राम, दुई भनेर गणना गर्छन्। भेट्दा आपसमा रामराम भनेर अभिवादन गर्छन्। दशैँका वेला महाभारतका गीत गाउँछन्। कृष्ण जन्माष्टमी भव्यसँग मनाउँछन्। अट्वारी मनाउँछन्। यस्तो अवस्थामा थारूले धर्म के लेख्ने? उनीहरूले हिन्दू धर्म लेखे आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले उनीहरूलाई आदिवासी र जनजाति भनेर मान्दैन। राज्यले नै यस्तो बाध्यात्मक स्थिति खडा गरेको छ।