होमसमाचारभारतमा बाढीले १२९ को मृत्यु

भारतमा बाढीले १२९ को मृत्यु

गोरखपुर : भारतका कैयौं राज्यमा निरन्तरको वर्षापछि आएको बाढीले कम्तीमा १२९ जनाको मृत्यु भएको छ। उत्तर प्रदेश र विहारका अधिकांश भाग जलाम्मे भएका छन्।

सामान्यतया भारतमा भदौको अन्त्यपछि यस्तो बाढी आउने गरेको थिएन। भारतीय मौसम विभागका अनुसार वर्षाले २५ वर्षयताको रेकर्ड तोडेको छ। यस्तै बाढी सन् १९९४ मा आएको विभागले जनाएको छ। मौसम विभागका ३६ उपकेन्द्रमध्ये १७ मा अत्यधिक वर्षामापन गरिएको छ भने १९ उपकेन्द्रमा सामान्य रहेको छ।

बाढीले विहार राज्य सबैभन्दा बढी प्रभावित भएको छ। वर्षा अझै नरोकिएको र खोजी एवं उद्धारका कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ। विहार सरकारले बाढी प्रभावित मानिसको उद्धार गर्न, सहायता सामग्री र औषधि गाउँ नगरमा पुर्‍याउन भारतीय वायु सेनालाई दुईवटा हेलिकप्टर उपलब्ध गराउन अनुरोध गरेको छ।

विहारका मुख्यमन्त्री नीतीश कुमारले आइतवार प्रादेशिक राजधानी पटनाका विभिन्न स्थानको निरीक्षण गरेका थिए । उनले पटनाका डाक बंगला, गान्धी मैदान, कन्कारबाघ सडक लगायतका स्थानको अध्ययन गरी पानी निकासको भरपर्दो व्यवस्था मिलाउन स्थानीय निकायलाई निर्देशन दिएका थिए ।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै मुख्यमन्त्री नीतीश कुमारले भारी वर्षाका कारण गंगाको पानीको सतह बढेका कारण जताततै डुबानको समस्या देखिएको बताए। भारतीय जलवायु विज्ञान विभागका अनुसार विहार र आसपासका क्षेत्रमा बुधवारसम्म भारी वर्षा हुनेछ।

उत्तर प्रदेशमा पनि अत्यधिक वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत व्यवस्थापन आयुक्त जीएस प्रियदर्शीले २९४ वटा घर पनि क्षतिग्रस्त भएको जानकारी दिएका छन्। सरकारले मातहतका निकायलाई वर्षाका कारण उत्पन्न समस्या नियन्त्रण गर्न निर्देशन दिएको पनि उनले स्पष्ट पारे। ‘हामी मौसम विभागसँग लगातार सम्पर्कमा छौँ, पूर्वी उत्तर प्रदेश क्षेत्रमा विगत तीन चार दिनदेखि अत्यधिक वर्षा भइरहेको छ’, उनले भने, ‘सन्त रविदास नगर, आजमगढ, मिर्जापुर, वाराणसी, प्रतापगढ, अम्बेडकर नगर, चण्डौली, प्रयागराज र जौपुरमा असामान्य वर्षा भइरहेको हो ।’

वर्षाका कारण बाढीको तह बढेर गंगा नदीमा घाजीपुर जिल्ला र कुवानो नदीको गोँडा जिल्लामा खतराको अवस्था देखिएको उनले जानकारी दिए ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

error: Content is protected !!