काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । उनले मंगलवार दिउँसो उपसभामुख समक्ष राजीनामा दिएका हुन्। आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग हओस् भनी राजीनामा दिएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।
संघीय संसद्कै महिला कर्मचारीले आफूलाई यौनदुर्व्यवहारको आरोप लगाएपछि मंगलवार बिहान बसेको नेकपाको सचिवालय बैठकले महरालाई सांसद र समामुख दुवै पदबाट राजीनामा दिन भनेको थियो । महरामाथि उनकै सचिवालयकी एक कर्मचारीले आइतवार बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्। सभामुख महराले भने आरोप अस्वीकार गरेका छन्। कर्मचारी समायोजनका क्रममा अन्यत्र सरुवा भएकी महिलाले भनेअनुसार आफूले नगरिदिएपछि निराधार आरोप लगाएको महराको दाबी छ।
प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार बिहान महरालाई प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर उनीमाथि लागेको आरोपबारे जानकारी लिएका थिए। सार्वजनिक रूपमा यस्तो आरोप लागेपछि छानबिनमा सहयोग गर्नका लागि सांसद र सभामुख दुवै पदबाट राजीनामा दिन उपयुक्त हुने सल्लाह दुवै अध्यक्षले दिएको स्रोतले बतायो। दुवै अध्यक्षको सल्लाहपछि महरा बालुवाटारबाट बाहिरिएका थिए। महराले यसबीच केही कानुनविद्सँग समेत परामर्श गरेका थिए।