होमसमाचारगैआनेमा जिम्मेवारी बाँडफाँड

काठमाडौँ : गैरआवासीय नेपाली (गैआने)संघले आफ्ना उपाध्यक्षहरूको जिम्मेवारी बाँडफाँड गरेको छ।
६ नोभेम्बर २०१९ मा बसेको गैआने संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले उक्त निर्णय गरेको हो। संघको विधानको दफा २२ (२) अनुसार संघका उपाध्यक्षहरुलाई उक्त जिम्मेवारी दिइएको छ।
डा. बद्री केसीले वैदेशिक रोजगार, अर्जुन श्रेष्ठले व्यापार, लगानी तथा नेपाल प्रवर्द्धन र मन केसीले गैआनेका नीति तथा सीप, ज्ञान र नव प्रवर्द्धनको जिम्मेवारी पाएका छन्।

यसैगरी सोनाम लामाले परोपकारी तथा मानव कल्याणकारी हित
र रविना थापाले महिला विभागको नेतृत्त्व गर्नेछन्।

ओमानमा कार्यरत डीबी क्षेत्री गैआनेको प्रवक्ता नियुक्त गरिएका छन्।
एक कानूनी सल्लाहकार र आन्तरिक लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरिएको छ। संघको आर्थिक नियमावली पुनरावलोकन गर्न, एक महिनाभित्र आर्थिक विवरण र वार्षिक बजेट पेश गर्न कोषाध्यक्ष महेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

यसैगरी अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा पदाधिकारीहरुको सदस्यता शुल्क तथा विभिन्न परियोजनाको लागि प्रतिबद्धता गरेको रकम संकलन गर्ने जिम्मा सहकोषाध्यक्ष लोक दाहालले पाएका छन्।

नेपाल सरकारका राष्ट्रिय नीति तथा कार्यक्रममा सल्लाह सुझाव दिन अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त व्यक्ति सम्मिलित उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको छ।

दोस्रो गैआने विज्ञ सम्मेलनको संयोजनको जिम्मा महासचिव डा. हेमराज शर्माले पाएका छन् भने स्मार्ट गैआने बनाउने कार्ययोजना पेश गर्न सचिव गौरीराज जोशीलाई जिम्मेवारी दिइएको छ।

राष्ट्रिय तथा राष्ट्रिय समन्वय परिषद्का जिम्मेवार पदाधिकारीहरुले सामाजिक सञ्जालमा संघको मर्यादामा आँच आउने किसिमका विषय लेख्न, प्रचार–प्रसार गर्न नपाउने विषय आचारसंहितामा राखिएको छ।
विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा अनुपस्थित सदस्यहरुलाई स्पष्टीकरण सोध्ने समेत निर्णय भएको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular