काठमाडौँ : श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबाया राजपाक्षेले प्रधानमन्त्रीमा आफ्नै दाजुलाई प्रस्ताव गरेका छन्। प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिने घोषणा गरेपछि राष्ट्रपतिले दाइलाई प्रधानमन्त्री बनाउने घोषणा गरेका हुन्।
विक्रमासिंघेले बिहीवार औपचारिक रूपमा राजीनामा दिएपछि महिन्दाले औपचारिक रूपमा पदभार सम्हाल्नेछन्। महिन्दा हाल विपक्षी दलका नेता हुन्। विक्रमासिंघेले मंगलवार राष्ट्रपति राजपाक्षेसँग भेट गरी संसद्को भविष्यबारे छलफल गरेका थिए। संसद्मा आफ्नो सरकारको बहुमत भए पनि राष्ट्रपतिको पाएको नयाँ जनादेशलाई ख्याल गरी राजीनामा दिएको विक्रमासिंघेले बताएका छन्। राष्ट्रपतीय निर्वाचनमा गोताबायाको जित भएपछि उनलाई राजीनामा दिन दबाब परेको थियो। राजपाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्रिपरिषद् गठन गर्ने जनाएका छन्। सन् २०२० को मार्च १ पछि नयाँ संसद् बन्ने भएकाले त्यतिबेलासम्म सानो मन्त्रिपरिषद् मात्रै रहनेछ। स्रोतका अनुसार नयाँ मन्त्रिपरिषद् १५ सदस्यीय हुनेछ।
तत्कालीन राष्ट्रपति मैत्रिपाला सिरिसेनाले अक्टोबर २६, २०१८ मा विक्रमासिंघेलाई बर्खास्त गरी महिन्दालाई प्रधानमन्त्री बनाइएका थिए। अदालतले उक्त कदम अवैध भएको फैसला गरेपछि महिन्दाले गत डिसेम्बरमा राजीनामा दिएका थिए। महिन्दा राजपाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकामा राष्ट्रपति बनेका थिए। उनी २४ वर्षकै उमेरमा सांसद बनेका थिए। उनले श्रीलंकामा चलेको ३ दशक लामो गृहयुद्ध अन्त्य गरेका थिए।
सैन्य पृष्ठभूमिका गोताबायाले तमिल लिट्टेविरुद्धको आक्रमणको नेतृत्व गरेका थिए। उनी रक्षामन्त्री हुँदा लिट्टे विद्रोह समाप्त भएको थियो। यसैले श्रीलंकाली तमिल उनीप्रति आशंकित देखिन्छन्। गोताबायामाथि सर्वसाधारण र विद्रोही तमिललाई यातना दिएको र अन्धाधुन्ध हत्या गरेको आरोप लागेको छ। गोताबाया बौद्ध धर्मावलम्बी सिन्हालीमाझ निकै लोकप्रिय छन्। राष्ट्रपतिमा विजयी हुनासाथ उनी बौद्ध भिक्षुसँग आशीर्वाद लिन पुगेका थिए।
गोताबाया भारत आउने
श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबाया राजपाक्षेले २९ नोभेम्बरमा भारत भ्रमण गर्ने भएका छन्।
गोताबायाको राष्ट्रपतिको रूपमा यो पहिलो विदेश भ्रमण हुनेछ। भारतीय विदेशमन्त्री एस. जयशंकर कोलम्बो भ्रमणमा छन्। उनले गोताबायासँग भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको निम्ता गरेका छन्। मोदीको निम्ता स्विकार्दै तत्काल उनी भारत आउन तयार भएका हुन्।
गोताबायाले राष्ट्रपति पदको शपथ लिएको भोलिपल्टै भारतीय विदेशमन्त्री जयशंकर श्रीलंका पुगेका थिए। श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोताबाया चीनप्रति उदार मानिन्छन्। कूटनीतिक विश्लेषकका अनुसार श्रीलंकामा बढ्दो चिनियाँ प्रभाव कम गर्न जयशंकर तत्काल कोलम्बो पुगेका हुन्।
मंगलवार राजपाक्षेसँग भेट गरेपछि जयशंकरले ट्विट गरे, ‘श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेसँग भेटवार्ता भएको छ। उहाँलाई प्रधानमन्त्री मोदीका तर्फबाट शान्ति, प्रगति, सद्भाव र सुरक्षा क्षेत्रमा मिलेर काम गर्ने सन्देश दिएँ। उहाँको नेतृत्वमा श्रीलंका र भारतबीचको सम्बन्धले नयाँ उचाइ लिनेछ।’ यसअघि चुनावमा विजयी हुनासाथ राजपाक्षेलाई आइतवार मोदीले फोन गरेर बधाई दिएका थिए र पहिलो भ्रमण भारत गर्न आग्रह गरेका थिए। गोताबायाले पनि मोदीलाई धन्यवाद दिएका छन्। उनले विकास र सुरक्षाका क्षेत्रमा भारतसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन्।
श्रीलंकाले हम्बनटोटा बन्दरगाह बनाउन चीनसँग ठूलो मात्रामा ऋण लिएको थियो। उक्त ऋण चुकाउन नसकेपछि श्रीलंकाले बन्दरगाह नै ९९ वर्षका लागि चीनलाई भाडामा दिएको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तान भ्रमणका लागि गरेको निम्ता गोताबाया राजपाक्षेले स्वीकार गरेका छन्। इमरानले मंगलवार राजपाक्षेलाई फोनमार्फत बधाई दिँदै पाकिस्तान भ्रमणको निम्ता गरेका थिए ।