एजेन्सी भ्याटिकन सिटी
क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले क्रिश्चियन धर्मका नाममा भएका गलत कार्यले धर्मप्रतिको आस्था र विश्वास गुमेको बताएका छन्। आधुनिक संसारमा क्रिश्चियन धर्मप्रति मानिसमा कम विश्वास देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनले क्रिसमसको परम्परागत शुभकामना आदानप्रदान कार्यक्रममा शनिवार यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उनले भ्याटिकन सिटीको उच्च प्रशासकीय अंग क्युरियामा रहेको कर्मचारीतन्त्रमा गुट र विश्वासघात अन्त्य हुनुपर्नेमा पनि जोड दिए। पोपले क्रिश्चियन धर्मप्रतिको विश्वास कम मात्र नभई बेवास्ता समेत हुन थालेको भन्दै सम्बद्ध आलोचना गरे।
‘हाम्रा (क्रिश्चियन) सोचविचार र धारणा पुनःस्थापित गर्न नयाँ तरिका खाँचो छ’, पोप फ्रान्सिसले भने, ‘आज संस्कृति फैलाउने संस्था चर्चमात्र छैन।’
उनले क्रिश्चियन धर्मको शासनकालमा नभएको पनि स्पष्ट पारे। ‘खासगरी यूरोप र पश्चिमको ठूलो भागमा यो प्रायः अस्वीकार गरिन्छ, उपहास गरिन्छ, न्यून संख्यामा रहेको छ र हाँसोको विषय भएको छ।’
क्रिश्चियन धर्ममा परिवर्तन आवश्यक भएको र पादरीहरूको सोचमा परिवर्तन आउन जरुरी भएको उनले स्पष्ट पारे।
सन् २०१३ मा पोप बनेसँगै उनले रुढीवादी तथा शक्तिशाली क्युरियालाई परिवर्तन गर्न खोजेका छन्। उनले क्युरियाका अधिकारीको स्वतन्त्रता र आर्थिक अधिकारमाथि नियन्त्रण गर्न खोजे पनि सकेका छैनन्।
क्रिसमसका शुभकामना कार्यक्रममा पोप फ्रान्सिसले क्युरियामा रहेका पादरी र पादरीका समूहमाथि आलोचना गरेका थिए।
फ्रान्सिसले क्रिश्चियन धर्मप्रति मान्छेको बेवास्ता भएको भन्दै यसको प्रचारप्रसार र सुधारका लागि सञ्चार मन्त्रालय जस्ता नयाँ विभाग पनि बनाएका छन्। उक्त कदमले राम्रो व्यवस्थापन गर्नसकिने र विभिन्न विभागमा हुनेगरेका गलत अभ्यास सुधार्न सकिने उनको धारणा छ।
पोपले प्रलोभनका कारण क्रिश्चियन धर्मका पदाधिकारीहरूले नैतिक पतन हुने काम गरेको भन्दै चिन्ता व्यक्त गरे।
परिवर्तनसँग डराएका पादरी र गलत अभ्यासका रूपमा फैलिएको धर्मले साझा हित र परिवर्तनमा अवरोध गर्ने गरेको उनको कथन छ। उनले भने, ‘यसबाट संस्था तथा पदाधिकारीमाथि नै घृणा उत्पन्न गर्ने गरेको छ।’