होमसमाचारजीवनका बाधक दशकर्म

जीवनका बाधक दशकर्म

– खेन्पो कमल भण्डारी

मानव उत्तम प्राणी हो। उसले आफ्नो मात्र होइन, संसारकै भलाइ सोच्नु पर्छ र त्यसै अनुसारको व्यवहार पनि गर्नु अवश्यक छ। जीवनयापनका क्रममा विभिन्न कर्म गर्नुपर्ने हुन्छ। त्यस क्रममा यी दश कर्मबाट बच्न सक्नुपर्छ। यसो गर्न सक्यौँ भने हाम्रो जीवन सफल हुन्छ।

१. प्राणीहत्या (སྲོག་གཅོད་པ།)

हामी संसारमा जन्मिएपछि विभिन्न कर्म गरिरहेका हुन्छौँ। जीवनयापनका क्रममा त्यस्ता विविध कर्म गर्दा केही काम अगतिला पनि हुन सक्छन्। प्राणीहत्या गरिनु निकै खराब काम मानिन्छ। आधुनिक समयमा प्राणीको हत्या हिंसा गर्ने प्रचलन बढेको छ। कोही समाजमा आफ्नो इज्जत प्रतिष्ठा बचाउन प्राणीको बध गर्छन्। कसैले मासुका निम्ति हिंसा गर्छन् त कसैले आफ्नो घर, महल सजाउन।

कोही इज्जत जोगाउनका लागि पनि प्राणी हिंसा गर्न पुग्छन्। आजभोलि उमेर नपुगेका किशोर किशोरी वा असुरक्षित सम्भोगबाट गर्भ रहन पुग्छ। यसबेला परिवारबाट सहमति नमिल्दा उनीहरूको विवाह हुन सक्दैन। गर्भमा रहेको बच्चालाई शिक्षित व्यक्तिले पनि जानीजानी हत्या गर्छन्। यो कार्यमा सहभागी हुने सम्पूर्णले प्राणी हत्या गरेको पाप भोग्नुपर्ने हुन्छ।

मासुका लागि प्राणीहत्या गर्ने काम त सम्पूर्णलाई अवगत भएकै हो। ठूलाठूला व्यक्तिका घरहरूमा बैठक सजाउन प्राणीहत्या गरिन्छ। सिङ र छालाका लागि गैँडा, बाघ, मृग जस्ता प्राणीको हत्या गरिन्छ।

२. चोरी (མ་བྱིན་པ་ལེན་པ།)

यो कर्म हामीले गर्न नहुने अर्को कर्म हो र गम्भीर भएर विचार गर्दा यो कार्य कमै गर्छन् । तैपनि हामीले भगवान्‌लाई केही चिज चढाएर कुशल कर्म सञ्चय गर्नुभन्दा पाप सञ्चय गर्छौँ। जस्तो मन्दिर जाँदा वा गोन्पा जाँदा बाटोमा भएको फलफूल आदि मालिकलाई नसोधी टिपेर लान्छौँ र चढाउँछौँ। यसरी पुण्य आर्जन गर्न खोज्दा खराब कर्म जम्मा गर्छौँ। यति मात्र नभएर आफन्तहरूका लागि पनि हामीले चोरी कार्य धेरै गरेका हुन्छौँ।

३. व्यभिचार (ལོག་གཡོམ་སྤང་བ།)

यो हाम्रो समाजमा अति धेरै हुने घटना हो। व्यभिचार भनेको आफ्नो अधिकार भएको भन्दा बाहेकका परपुरुष वा परस्त्रीसँग सम्भोग गर्नु हो। यसो गर्दा समुदायमा इज्जत त घट्छ नै। यसका साथै दुश्मनी पनि बढ्ने हुन्छ। कतिपय अवस्थामा त हत्या वा आत्महत्यासम्म हुने गर्छ। यस्ता कार्य रोक्नु अत्यावश्यक छ।

४. असत्य बोल्नु (རྫུན་སྨྲ་བ།)

मानिसले असत्य बोल्नु भन्नेबित्तिकै झूटो बोल्नु भन्ने बुझिन्छ। नदेखेको कुरा देखेँ वा नगरेको कुरा देखेँ भन्नु आदि झूटो कार्य हो। यस्ता मानिसलाई शुरुमा विश्वास गरे पनि विस्तारै समाजले पत्याउन छोड्छ। त्यस्ता मानिसलाई सबैले त्याग्दै जान्छन्। साँचो बोल्दा वा अप्ठेरोमा परेका बेला पनि त्यस्ता मानिसले दुःख पाउँछन्।

५. चुक्ली (ཕྲ་མ།)

चुक्ली एकआपसमा राम्रो सम्बन्ध भएका व्यक्तिहरूलाई देखेर ईर्ष्या भएर कुरा लगाएर फुटाइदिनु वा सम्बन्ध बिगारिदिनु हो। यसले समाजमा झै-झगडा हुन्छ र समाजमा अशान्ति सिर्जना हुन्छ।

६. कठोर वचन (ཚིག་རྩུབ་།་)

अरूको मन दुख्ने खालको कठोर वचन बोल्नु पनि अपराध हो। यसबाट मानसिक हिंसा हुन्छ।

७. असत् सम्भाषण (ངག་ཁྱལ།)

मानिस असल प्राणी हो। उसले समाजको उन्नति र भलो हुने कुरा गर्नुपर्छ। त्यसको साटो कुपात्रको बारेमा कुरा गर्नु वा अरूको कुरा काटेर बस्नु असत् सम्भाषण हो। युद्धका बारेमा कुरा गर्नु र अनावश्यक कुरा गर्नु पनि असत् सम्भाषण हो।

८. नराम्रो सोच्नु (གནོད་སེམས།)

अरूको कुभलो सोच्नु। मानवले सके संसारको भलाइ हुने काम गर्नुपर्छ। त्यसो गर्न नसके पनि अरूको हानि नोक्सानी हुने कल्पना पनि गर्न हुँदैन। अरूको कुभलो सोच्ने व्यक्ति सधैँ दुःखी र क्लेशयुक्त हुन्छ।

९. व्यापदा (བརྣབ་སེམས་།)

अरूको सम्पत्ति आदिमा लोभ गर्नु। त्यो वस्तु मेरो भइदिए हुन्थ्यो भन्ने कल्पना गर्नु। संसारका सबै सुखदुःखको मूल कारण नै मन हो।

१०. मिथ्यादृष्टि (ལོག་པར་ལྟ་བ།་)

सत्कर्म गर्दा राम्रो फल पाइन्छ र असत्कर्म गर्दा नरामै फल पाइन्छ भनी स्वीकार गर्न नसक्नु मिथ्यादृष्टि हो। पुनर्जन्म छैन भन्ने आदि यसमा पर्छन्।

यी दश कर्मलाई ख्याल गरी सत्कर्म गर्न सक्यौँ भने हाम्रो समाजमा विद्यमान विकृति रोक्न सकिन्छ। यसबाट असल समाजको निर्माण हुन्छ। असल समाज भयो भने सुख शान्ति हुन्छ। शान्तिपूर्ण समाजमा नै सद्भाव र मैत्रीको विकास हुन्छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

error: Content is protected !!