होमसमाचारभारतीय विदेशसचिव शृङ्गला काठमाडौँमा

काठमाडौँ : सीमा विवादका कारण उत्पन्न संवादहीनता तोड्दै नेपाल र भारतबीच वार्ता शुरु भएको छ।
दुई देशबीच देखिएको गतिरोध अन्त्य गर्दै नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा सीमासम्बन्धी विवादबारे पनि छलफल भएको छ।
बैठकमा नेपाली परराष्ट्रसचिव भरतराज पौड्याल र भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलाले गर्नुभएको छ। आफ्नो भ्रमणको उद्देश्यबारे जानकारी दिँदै विमानस्थलमा सचिव शृङ्गलाले नेपाली भाषामा भन्नुभयो, “विदेश सचिवका रूपमा काठमाडौँ आउँदा मलाई अत्यन्त खुशी लागेको छ। पहिले पनि म काठमाडौँ आएको छु तर विदेश सचिवका रूपमा मेरो यो पहिलो भ्रमण हो। भारत र नेपाल निकटतम मित्र हुन्। हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ।”

नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका साथ भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गला।

शृङ्गला शुक्रवार गोरखा पुगेर भारत सरकारले त्यहाँ पुनःनिर्माण गरेका तीनवटा विद्यालय भवन उद्घाटन गर्ने जानकारी दिनुभएको छ। गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुरूप ४० हजार घर बनिसकेको जानकारी दिँदै मनाङमा बनाइएको गुम्बाको उद्घाटन गर्ने बताउनुभयो।
नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँग सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिनुभएको छ। बिहीवार साँझ प्रधानमन्त्री निवासमा भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले उक्त सन्देश पुर्‍याइदिन आग्रह गर्नु भएको थियो ।
प्रधानमन्त्री ओलीसँग भेटको शुरुमै सचिव शृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई राम्रो बनाएर अगाडि लैजान चाहेको सन्देश नेपाली प्रधानमन्त्रीलाई सुनाएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले बताउनुभयो। सल्लाहकार भट्टराईका अनुसार दुवै देशका प्रधानमन्त्रिस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आगामी दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको छ।
सीमा विवाद अहिले एकाएक सिर्जना नभई ऐतिहासिक बिरासत भएकाले त्यसलाई वर्तमान नेतृत्वले सुल्झाउनुपर्नेमा जोड दिनुभएको थियो। भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओली र मोदीबीच वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने जनाउनुभएको थियो ।

भारतीय समकक्षी शृङ्गलाका साथ नेपाली विदेशसचिव भरतराज पौड्याल।

प्रधानमन्त्री ओलीले नेपालको भूभाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो।
गत कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेपछि विवाद उत्पन्न भएको थियो। सचिव शृङ्गलाभन्दा अघि गत महिना भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रूपमा गुप्तचर संस्थाका प्रमुख समन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गर्नुभएको थियो।
सचिव शृङ्गलाले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणामूलक बनाउन पहल गर्ने विश्वास दिलाउनुभएको थियो।
नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन शृङ्गलासँगको भेटमा आग्रह गर्नुभएको छ। सचिव शृङ्गलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरूसँग भेटवार्ता गर्नुभएको छ। भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै देशबीच बाँकी रहेका मुद्दा समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि विचारविमर्श भएको थियो। परराष्ट्रसचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा शृङ्गला काठमाडौँ आउनुभएको हो।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular