होमसमाचारअन्तरराष्ट्रिय२८ अमेरिकी अधिकारीलाई चीन प्रवेशमा प्रतिबन्ध

पेचिङ : जो बाइडनले अमेरिकी राष्ट्रपतिको शपथ लिएको केही समयमै चीनले २८ पूर्वअधिकारीलाई प्रतिबन्ध लगाएको छ ।
४६ औँ राष्ट्रपति बाइडनले शपथ लिएको केही क्षणमै चीनले ट्रम्प प्रशासनमा विदेशमन्त्री रहेका माइक पोम्पिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार रबर्ट सी. ओ ब्रायन र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि केली क्राफ्टलाई यात्रा एवं व्यापारिक कारोबारमा प्रतिबन्ध लगाएको हो ।
यसैगरी ट्रम्प प्रशासनमा आर्थिक सल्लाहकार रहेका पिटर नेभारो, एशियाका लागि शीर्ष कूटनीतिज्ञ डेभिड स्टिलवेल, स्वास्थ्य तथा मानव सेवामन्त्री एलेक्स अजरका साथै पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जन आर बोल्टन एवं रणनीतिकार स्टीफन के ब्याननलाई पनि प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धित सूचीमा म्याथ्यू पटिङ्गर, कीथ क्र्याच, केली डी के क्राफ्ट पनि छन् ।

ती २८ अधिकारीमाथि प्रतिबन्ध लगाउनुको कारण पनि स्पष्ट पारेको छ । ती अधिकारीले चीनप्रति पूर्वाग्रह र द्वेष राख्ने गरेको पेचिङको भनाइ छ । चीनले ती अधिकारीले चीन र अमेरिकाबीचको सम्बन्ध बिगार्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न प्रमुख भूमिका खेलेको दाबी गरेको छ । ती अधिकारीले चीनको मुख्य भूमिका साथै हङकङ र मकाउमा पनि प्रवेश गर्न पाउनेछैनन् । उनीहरूका परिवारका सदस्यलाई पनि यो नियम लागू हुनेछ । उनीहरूले चीन वा चीनका कुनै पनि कम्पनीसँग व्यापार गर्न पनि सक्ने छैनन् । यद्यपि चीनले पूर्वराष्ट्रपति ट्रम्पलाई भने कुनै यस्ता कुनै कदम उठाएको छैन ।
चिनियाँ विदेश मन्त्रालयले पोम्पिओलाई ‘महाविनाशका पुतला’ भन्दै आक्रोश व्यक्त गरेको छ । उनले चीनलाई नरसंहार र मानवताविरुद्ध अपराध गरेको भन्दै दोषी ठहर्‍याउनु निकै अनुचित काम भएको पनि उल्लेख गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनयिङले पत्रकारसँग भनिन्, ‘‘पोम्पिओले चीनको सिनच्याङ क्षेत्रमा मुस्लिम अल्पसंख्यक समूहमाथि अत्याचार गरेको आरोप लगाए । यो ‘एकदम सनसनी फैलाउने झूटो प्रस्ताव’ हो ।’’
उनले चीनविरुद्ध अनर्गल प्रचार गर्न खोजेको भन्दै असन्तुष्टि प्रकट गरिन् ।

‘ती अमेरिकी नेता, जो झूटो बोल्न र धोका दिन कुख्यात छन्, उनले आफूलाई ‘महाविनाशका कारक’ बनाउँदै छन्’, उनले भनिन् । डोनल्ड ट्रम्पले आफ्नो शासनको अन्त्यतिर चीनको सिनच्याङ प्रान्तमा मुस्लिममाथि चिनियाँ सरकारले नरसंहार गरेको घोषणा गरेका थिए ।

ट्रम्प प्रशासनका अधिकारीहरूमाथि लगाइएको यो प्रतिबन्ध अमेरिकाप्रति चीन कठोर रूपमा प्रस्तुत हुने संकेत देखिएको छ ।
ट्रम्पको कार्यकालमा चीनमाथि प्रतिबन्ध

डोनल्ड ट्रम्प सरकारले चीन सरकारका कैयौँ अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।
हङकङको स्वायत्तता कमजोर बनाउन सहयोग गरेको भन्दै अमेरिकाले चीनका १४ वरिष्ठ अधिकारीलाई प्रतिबन्ध लगाएको थियो । त्यसमा एक तिब्बती अधिकारी पनि छन् । उनीहरूमा चिनियाँ नेशनल पीपुल्स कंग्रेसको स्थायी समिति (एनपीसीएससी) का उपाध्यक्ष रहेका छन् ।
सिनच्याङ प्रान्तमा मुस्लिममाथि अत्याचार गरेको आरोपमा गभर्नर सहित प्रान्तका तीनजना पनि यसमा समावेश थिए ।

यसैगरी चीनले न्यूयोर्क स्टक एक्सचेन्जद्वारा तीनवटा चिनियाँ दूरसञ्चार कम्पनीलाई हटाइए कारबाही गर्ने चेतावनी दिएको छ । ट्रम्प सरकारले न्यूयोर्क स्टक एक्सचेन्जले चाइना टेलीकम कर्प लि., चाइना मोबाइल लि. र चाइना यूनिकम हङकङ लि.लाई हटाउन आदेश दिएको थियो । पूर्वराष्ट्रपति ट्रम्पले १२ नोभेम्बरमा सरकारी आदेश जारी गर्दै सार्वजनिक रूपमा कारोबार गर्ने ती कम्पनीमा आर्थिक लगानी गर्न प्रतिबन्ध लगाएका थिए । ती तीनवटै कम्पनीको स्वामित्व चिनियाँ सेनासँग भएको अमेरिकी दाबी छ । यसैगरी सन् २०२० को डिसेम्बर ५ तारिखमा अमेरिकी विदेश मन्त्रालयले अमेरिका ‘विदेशी प्रभाव अभियान’मा संलग्न चिनियाँ नागरिकलाई भिसामा प्रतिबन्ध लगाएको थियो । तत्कालीन विदेशमन्त्री माइक पोम्पिओले चिनियाँ कम्यूनिष्ट पार्टीका अधिकारी वा ‘यूनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्ट’सँग संलग्न अथवा प्रचार अभियान सम्बद्ध कुनै पनि व्यक्तिमा लागू गरिएको थियो । यूनाइटेड फ्रन्टका सदस्यले उइगुर, तिब्बत र अन्य कुनै ठाउँमा भएका मानवाधिकार सम्बन्धी घटनामा चीनको आलोचना गर्दै आएका छन् । उक्त प्रतिबन्धमा पोम्पिओको प्रमुख हात रहेको थियो । -एजेन्सी

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular