– सुनिल उलक
विक्रम संवत् १९३३ फागुन १६ मा जङ्गबहादुर राणाको मृत्युपछि प्रधानमन्त्री तथा श्री ३ बनेका रणोद्दीपसिंह कुँवरलाई उनकै भतिजा (भाइ धीर शमशेरका छोरा)हरूले हत्या गरी सत्ता खोसे। उनीहरूले निसन्तान काका रणोद्दीपको मात्र हत्या गरेनन् जङ्गबहादुर राणाका सन्तान कसैलाई पनि बाँकी राखेनन्। जङ्गखलक कोही काटिए भने कोही भागे। त्यसपछि सत्ता एकलौटी रूपमा धीर शमशेरका सत्र भाइ छोरामा पुग्यो। काकाको हत्या गरी सत्तामा पुगेका वीरशमशेर पनि मृत्युपर्यन्त श्री ३ महाराज तथा प्रधानमन्त्री बने।
वीरशमशेरको निधनपछि देवशमशेर श्री ३ बने। निकै सरल स्वभावका देवलाई भाइ चन्द्रशम्शेरले टिक्न दिएनन्। देवशमशेरलाई सत्ताच्युत गरी चन्द्रशमशेर श्री ३ महाराज तथा प्रधानमन्त्री बने।
चन्द्रशमशेर सात महिनाको गर्भमा नै जन्मेको हुँदा सानैदेखि ज्यान खासै बढेको थिएन। जसले गर्दा जङ्गबहादुरले उनलाई फिस्टे भनेर बोलाउँथे । जसले गर्दा दरवारभित्र उनको नामै फिस्टे रहेको थियो। उनी श्री ३ महाराज बनेपछि पनि फिस्टे महाराजले चिनिन्थे। केही रिसाहा स्वभावका चन्द्रको बारेमा भनाइ नै थियो- “चन्द्रे हाँस्यो कि नास्यो ।” सितिमिति नहाँस्ने चन्द्रे हाँस्यो भने केही बित्यास हुने आशङ्का गरिन्थ्यो।
नेपालको विकासका कुरा गर्ने हो भने चन्द्रशमशेरको शासनकालमा धेरै कुरा भएका थिए ।
त्रिचन्द्र कलेज स्थापना, त्रिचन्द्र सैनिक अस्पताल स्थापना, टोखा क्षयरोग अस्पताल स्थापना, सिंहदरवार वैद्यखाना स्थापना, नेपालको पहिलो जलविद्युत फर्पिङ जलविद्युत स्थापना, चन्द्रनहर, चुरिया सुरुङ मार्ग, रोपवे, रेलवे, सतीप्रथा अन्त्य, दासप्रथा अन्त्य आदि प्रमुख हुन्।
राणाकालमा शिकार कूटनीति निकै प्रचलित थियो। बेलायतीहरूलाई कुनै कुरामा खुशी बनाउनु पर्यो भने शिकारको निम्तो पठाउँथे। जङ्गबहादुरको शासनकालमा त्यतिबेलाका प्रिन्स अफ वेल्स (पछि राजा एडवर्ड सातौँ) शिकारका लागि संवत् १९३२ फागुन १० गते पश्चिम नेपालको बनवासा आएका थिए। चन्द्रशमशेरकै शासनकालमा एडवर्ड सातौँका छोरा राजा जर्ज पाँचौँ वि.सं. १९६८ पुस ३ गते नेपाल आएका थिए। यसको दश वर्षपछि चन्द्रशमशेरकै शासनकालमा पुनः एडवर्ड सातौँका नाति तथा राजा जर्ज पाँचौँका छोरा प्रिन्स अफ वेल्स एडवर्ड (पछि राजा एडवर्ड आठौँ) पनि आए। राजा एडवर्ड आठौँ बनेको एक वर्ष पनि नहुँदै प्रेमिकाका कारण राजगद्दी त्यागेर अमेरिका गएर बसे। यहाँ राखिएको भिडियो उनै प्रेमिकाका लागि राज्य त्याग्ने राजाको हो।
श्री ३ महाराज चन्द्रबाट भारतका भायसरायलाई माघ महिना शिकारका लागि उपयुक्त हुने भन्दै भारतको बैरगनिया हुँदै नेपाल प्रवेश गरी पत्थरघट्टा वागमती नदी वरपर शिकार गराउने सोचिएको थियो तर पछि भिखना ठोरी हुँदै प्रवेश गरेर चितवनमा नारायणी नदी वरपर शिकार गराउने तय भयो। प्रिन्स एडवर्डको यात्रा भारत र नेपाल पछि जापान पनि तय भएको हुँदा नेपालमा शिकारको समय छोट्याइएको थियो। केवल आठ दिन मात्र नेपालमा रहने मिति तय भएको सूचना नेपालका प्रधानमन्त्रीलाई असारमा मात्र पठाइएको थियो। वि.सं. १९७८ मंसिर २९ गतेदेखि पुस ७ गतेसम्म नेपालमा शिकारका लागि समय तय गरिएको हुँदा पर्याप्त तयारी गर्न नपाएको जानकारी शिकार प्रबन्धको जिम्मा लगाइएका श्री ३ का छोरा केशर शमशेरले जानकारी गराएका थिए। राजकुमारको शिकार अवधि उनका बुबा र बाजेले गरेको शिकारभन्दा निकै छोटो रहेको हुँदा पर्याप्त शिकार हुन नसक्नेमा नेपालका अधिकारी चिन्तित थिए। साथै समय छोटो हुँदा शिविर (क्याम्प) पनि अस्थायी रूपले टेन्टहरूबाट मात्र बनाइएको थियो। उनका बुबा शिकार गर्न आउँदा कसरामा पक्की भवन नै बनाइएका थिए।
प्रिन्स एडवर्डको भारतीय उपमहाद्वीप तथा जापानको भ्रमण कार्यक्रम करिब ८ महिना लामो थियो। भारतमा मात्र करिब ४ महिनाको कार्यक्रम थियो। १९७८ कात्तिक १० मा बेलायतको पोर्टस्माउथबाट विदेश भ्रमणमा निस्केका उनी विशेष रूपले प्रथम विश्वयुद्धमा भारतीय सैनिक जवानहरूले गरेको सहयोगका लागि राजा जर्ज पाँचौँका तर्फबाट धन्यवाद दिन आएका थिए। उनका साथमा फोटोग्राफर पिन्डि पनि ल्युल आएका थिए।
प्रिन्सको आगमनभन्दा एक महिनाअगाडि देखि जंगलमा प्रवेश बन्द गराइएको थियो। सैनिक जवानहरूले प्रिन्सको शिकार स्थल सुरक्षित रूपमा घेरेर बसेका थिए। अन्य बाहिरी जनावरहरूको पनि अनावश्यक प्रवेश गर्न तथा जंगल भित्र सुरक्षित जनावरलाई बाहिर निस्कन नमिल्ने गरी घेरेर राखिएको थियो। मध्यरातमा पनि गोलीको आवाजले सतर्क बनाएर राखिएको हुन्थ्यो। जंगलभित्र तीनवटा क्याम्प बनाइएको थियो। नदी किनारको समथर भागमा शाही क्याम्प, त्यसको पारी जंगल नजिकै कर्मचारी तथा नोकरचाकरहरूका लागि क्याम्प बनाइएको थियो। केही उचाइमा पत्रकारहरूका लागि क्याम्प बनाइएको थियो।
क्याम्पभित्र कार्बन आर्क ल्याम्पबाट उज्यालो बनाइएको थियो। शाही क्याम्पका बाहिर बगैँचा बनाइएको थियो। कुर्ची टेबल राखेर सजाइएको थियो। क्याम्पको भित्र जमिनमा चितुवाको छाला गाँसेर कार्पेट झैँ ओछ्याइएको थियो। प्रिन्सको विशेष टेबल शिकारका चिनोहरूले नै बनाइएको थियो। गैँडाको खुर, गैँडाको सिङ तथा गैँडाको छालाबाट बनाइएको थियो। त्यति मात्र नभएर रद्दी कागज फाल्ने भाँडो समेत गैँडाको खुट्टाको तल्लो जोर्नी हाडबाट बनाइएको थियो। डाइनिङ टेबलको बीचमा प्रिन्सका बाजे, बुबा तथा अन्य पाहुनाहरू शिकार गर्दाका तस्वीरहरूको एलबमले सजाइएको थियो। क्याम्पमा हुलाक तथा टेलिफोन समेतको व्यवस्था गरिएको थियो। छाला प्रशोधनको लागि क्याम्पदेखि झण्डै एक कोश टाढा व्यवस्था गरिएको थियो। जहाँ शिकार गरिएका जनावरको छाला निकाल्ने तथा सफा गरेर सुकाउने काम हुन्थ्यो। यसका लागि विशेष तालि प्राप्त विशेषज्ञ भारतबाट ल्याइएको थियो। बम्बे न्याचूरल हिस्ट्री सोसाइटीसँग आबद्ध एन.ए. बाप्टिस्टा तथा उनको सहायकको रूपमा रावजी कनेरा (भारतीय) लाई विशेष रूपले छाला प्रशोधनका लागि ल्याइए पनि अन्य कामको सहयोगीको रूपमा भने नेपाली नै राखिएका थिए।
प्रिन्सको आगमनको अघिल्लो साँझ सबै व्यवस्था तथा क्याम्पको निरीक्षण बेलायती अधिकारी तथा नेपाली विशिष्ट अधिकारीले गरेका थिए। सबै निरीक्षणपछि व्यवस्थापन देखेर बेलायती अधिकारीले खुशी व्यक्त गरेका थिए। शिकारको सम्पूर्ण व्यवस्थापन प्रमुखका रूपमा श्री ३ का छोरा केशर शमशेर खटाइएका थिए।
पहिलो दिन – १९७८ को मंसिर २९ को बिहान क्याम्पमा प्रिन्सको आगमन हुन लागेको खबर पुग्यो। सबै आ-आफ्ना ठाउँमा तयारी अवस्थामा रहे। ठिक ९ बजे क्याम्पमा गाडीको आवाज सुनिन थाल्यो। बेलायती क्रसले कम्पनीको फेटन कारमा प्रिन्स सबैभन्दा अगाडि थिए। यसपछि पनि अन्य अधिकारीका गाडीको लहर क्याम्प प्रवेश गर्यो।
कारबाट जोधपुरी ब्रिच (घुँडादेखि तल कस्सिएको) खाकी पाइन्ट, शिकारी कोट तथा साम्भरको छालाको जुत्ता लगाएका २६ वर्षे ठिटो प्रिन्स झरे। एकैछिन परिचय गर्न लागे त्यसपछि फेरि गाडीमा नै चढेर शिकारको तयारी स्थलतिर हिँडे। सरस्वती खोला नजिकै बनाइएको शिकार क्याम्पमा पुगेपछि प्रिन्स सजिएको हौदा भएको हात्तीमा चढे। यो हात्ती त्यही थियो जुन हात्तीमा चढेर उनका बुबा राजा जर्ज पाँचौँ दश वर्षअगाडि शिकार खेल्न आउँदा चढेका थिए। त्यसपछि पालैसँग अन्य पाहुना पनि अन्य हात्तीमा चढे। अन्य विशिष्टहरूमा अर्ल अफ क्रोमर (एभलिन बेयरिङ), एडमिरल सर लायनल हाल्सी, कर्णेल वार्गन, लर्ड लुइस माउन्टवेटन, क्या. (अनरेरी) पियर्स ले, ब्रुस अगिल्भी तथा बर्नार्ड सी. एलिसन थिए। यता नेपाल सरकारका तर्फबाट जनरल केशर शमशेर खटिएका थिए।
सबै मिलेर शिकारका लागि निस्किए। हात्तीको लश्कर पछाडि सैनिक तथा मजदुरहरूको भीड नै थियो। विशाल खोला सुकेर सानो भएको थियो। गर्मीले हात्तीहरू पनि आत्तिएका थिए। शिकारका लागि करिब ७०० हात्ती ल्याइएको थियो। कतिपय तालिम प्राप्त हात्ती भारतीय जमिन्दारहरूका पनि ल्याइएको थियो।
शिकारीको लाम जंगलभित्र घेरा पार्दै अघि बढ्न थाल्यो। बिस्तारै घेरा कस्दै पनि लगिएको थियो। यस्तैमा जंगलभित्र सर्याकसुरुकको आवाज सुनियो। शिकारको नाइके केशर शमशेरले माहुतेहरूलाई हात्तीको घेरा कस्न लगाए। प्रिन्स पनि तयारी अवस्थामा बसे। बाघ नदेखिए पनि बाघ नजिकै भएको सबैले अनुमान गर्न थालिसकेका थिए। त्यस्तैमा भाग्दै गरेको मृग देख्नासाथ सबैले बाघ बाघ भनेर कराउन थाले। नभन्दै त्यतिखेर पाटे बाघ देखियो। अग्लो घाँसको बीचमा पहेँलो रङ देखियो। फेरि एकैछिनमा हरायो। एकैछिन पछि रूखका पछाडि बाघ देखियो। चारैतिर घेरिसकेको हुँदा बाघ भाग्ने ठाउँ नै थिएन। गुरगुर गर्दै बाघ बाहिर देखियो। यस्तैमा प्रिन्सले गोली हाने। अरू दुई गोलीको आवाज पनि आयो। बाघ घाइते भइसकेको थियो। आवाज आउन छोडिसकेको थियो तर बाघ देखिएको थिएन। पछि बाघ खोजेर निकालियो । त्यसै दिन अरु तीनवटा बाघ पनि अन्य टोलीले मारेका थिए । यसरी प्रिन्सको गोलीबाट पहिलो बाघको शिकार भयो ।
त्यस रात खुशियालीका साथ डिनरको आयोजना गरिएको थियो । डिनरमा बेलायती मेनु तैयार गरिएको थियो । डिनरको मेनुको सबैभन्दा माथि जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी लेखिएको राष्ट्रिय चिन्ह अंकित थियो । तर तल खानेकुराको नाम सबै बिदेशी थिए । मेनु भिडियोमा हेर्न सक्नुहुनेछ ।
मेनु फ्रान्सेली भाषामा लेखिएको थियो । मेनु हेर्दा यस्तो लाग्थ्यो नेपालको महाराजाले बेलायती प्रिन्स अफ वेल्सको स्वागतको लागि कुनै पनि किसिमको कमि हुन दिएको छैन । जंगलको बिचमा मानविय सभ्यताहरु कोशौ टाढा एकान्त ठाँउमा पनि यसरी तैयारी गर्नु भएको सानो मेहनत थिएन ।
मारिएका बाघहरुको राती नै छाला तार्ने तथा सफा गर्ने काम गरिएको थियो । भोलिपल्ट उज्यालोमा छाला सुकाउन सजिलोको लागि नै रातारात सबै काम गरिएको थियो ।
दोश्रो दिन – मंसिर ३० गतेको दिन गैडाको शिकार गर्नको लागि तय गरिएको थियो । बिहान ६ बजे नै उठेर प्रिन्स तथा टिमहरु पोलो खेलेका थिए । बिहान दश बजे नै शिकारको लागि निस्कने भनिएको भए पनि अघिल्लो दिनको थकाइले सबै ढिला मात्र तैयार भए । करिब ३२ किमी टाढा हालको माडी क्षेत्र तिर गैडा शिकारको लागि मचान बाँधिएको थियो । एकातर्फ समथर खेतमा पहेलै तोरी फूलिरहेको थियो । अर्को तर्फ खोला थियो । मचान नजिकसम्म प्रिन्स तथा विशिष्टहरुको गाडी लग्नको लागि बाटो बनाइएको थियो । मचान बाँधिएको ठाउँमा सबै जम्मा हुँदा दिउसोको १ बजेको थियो । जसले गर्दा दिउसोको लन्च पछि मात्र शिकार खेल्न तैयार भए । गैडाको एक हुल देखियो । प्रिन्सले ठम्याउन नै सकेनन् । माउन्टवेटनले हानेको गोली गैडालाई लाग्यो । घायल गैँडा भाग्दै गयो । मृत गैँडा निकै दिन पछि मात्र नेपाली सैनिकहरुले भेटाएको थियो । अर्को गैँडा पनि गोलीबाट घायल मात्र भयो, मार्न सकेन । दोश्रो दिन थकानले चुर भएका शिकारीहरु रित्तो हात फर्किए । फर्कदा बाटोमा भेटिएको एउटा सुंगुर मारेर चित्त बुझाए ।
तेश्रो दिन – प्रिन्सको गोलीले घायल बाघलाई क्याप्टेन पियर्स ले तथा माउन्टवेटनको गोलीले मारे । यस पछि गैडाको शिकारको प्रयास भयो । यस पटक पनि घायल गैडा जंगलमा भागेको केही दिन पछि मात्र नेपाली सेनाले मृत भेट्टायो । राती क्याम्प फर्कनु अगाडि एडमिरल हेल्सीले पनि बाघको शिकार गर्न सफल भयो ।
चौथो दिन – बिहानै प्रिन्स अन्य अफसरहरुसंग केही बेर फुटबल खेले । बिहानै क्याप्टेन पोयन्डर र क्याप्टेन डुड्लेले एउटा पोथी गैडाको शिकार गरे । पछि गैडाको छाला निकाल्दा थाहा भयो गैडा गर्भवती रहेछ । पेटमा नहुर्किएको सानो बच्चा भेटियो । त्यस दिन क्याप्टेन पोयन्डरले अर्को एक गैडा पनि मार्न सफल भए । अन्तमा ठोरी नजिकै अर्को एक बघिनी मार्न सफल भयो । यस दिन भने सबैभन्दा बढि शिकार गर्न सफल भए ।
पाँचौ दिन १९७८ पुस ४ को दिन आइतवार परेको थियो तसर्थ छुट्टी लिए । यस दिन कुनै शिकार नगर्ने हुँदा सबै आराम गर्न थाले । यसै दिन महाराजा चन्द्रशम्शेरले बिशिष्ट पाहुनाहरुको लागि उपहारहरु लिएर आएका थिए । महाराजाले उपहार दिन चाँदीले मोडिएको खुकुरीहरु पनि लिएर आएका थिए । साथै प्रिन्सको लागि बिभिन्न जिउँदो जनावरहरु तथा पक्षिहरु पनि ल्याएका थिए । खुकुरी अफसरहरुको लागि थियो भने जनावरहरु तथा पक्षीहरु भने प्रिन्सको लागि थियो । श्री ३ महाराज चन्द्र शम्शेरले नेपाल सरकारको तर्फबाट प्रिन्स एडवर्डलाई उपहारमा दिइएका जनावरहरुमा एउटा हात्तीको छावा, एउटा गैडाको केटो, दुइवटा चितुवाको छाउरो, दुइवटा हिमाली कालो भालु, एउटा कालो चितुवा, एउटा धर्कै चितुवा, एउटा बाघ, तिब्बती फ्याउरो, हिमाली फ्याउरो, दुइवटा जरायो, एउटा थार, तीनवटा कस्तुरी मृग, केही भिन्न जातका भेडाहरु, दुइवटा भोटे कुकुर, चारवटा कुकुरको छाउरा, एउटा सुन गोहोरो, केही अजिंगर तथा अन्य किसिम किसिमका चराहरुमा नेपाली कालिज, सेतो कलगी भएको कालिज, मुनाल, चीर, फोक्रास, चकोर, तित्रा, हरियो परेवा, खैरो पखेटा भएको ढुकुर, बाज, मयुर पठाइएको थियो । यि जनावर तथा पक्षिहरु सबै कलकत्ता पठाइयो । केही दिन कलकत्ता जुलोजिकल गार्डेनमा राखेपछि त्यहाँबाट रिजेन्टस पार्कमा रहेको लण्डन जुलोजिकल गार्डेनमा पठाइएको थियो ।
छैठौ दिन – प्रिन्सले एउटा गैडा मार्न सफल भयो । बिहानै गैडा मार्न सफल भएको हुँदा दिनभर राम्रो हुनेमा बिश्वस्त थिए, तर त्यस्तो भएन । माउन्टवेटन चढेको हात्ती बिहानै उत्तेजित हुन थाल्यो । लर्ड लुइस चढेको हात्तीले अर्को हात्तीलाई आक्रमण गरेर जंगल तर्फ भाग्यो । पछि माहुतेले काबुमा ल्याए । त्यसै दिन शिकारमा पार्सिभल ल्याण्डनलाई पनि भेटे । नेपाली अफसरहरुसंग शिकारमा आएका उनले पनि त्यस दिन एउटा गैडा मार्न सफल भएको थियो । पर्सिभल श्री ३ चन्द्रले बेलायतबाट नेपालको इतिहास लेख्न बोलाइएका लेखक थिए । उनले “नेपाल” शिर्षकमा पुस्तक लेखेका छन् ।
बेलायतीहरुका लागि नेपालीहरुका केही प्रचलनहरु अनौठो लागेको थियो । नेपालीहरुले बाघ मरेपछि उसको रगतलाई पातमा लिएर बाघकै जुंगाले रगत छर्केको तथा वनदेवताको लागि रगत चढाएको देख्दा अनौठो मानेर हेरेका थिए । यसरी रगत चढाउदा मृत आत्माले सुख पाउने तथा अर्को जन्म खुशियाली पूर्ण हुन्छ भन्थे । उता मरेको जनावरहरुको छाला सुकाउने ठाँउमा गाँउलेहरु बाघको खुर, जुंगा तथा बोसो लिन आउँथे । उनिहरुले यि सबै औषधीको काम आउँछ भन्थे । त्यसै दिन दिउसो अर्को एक बाघ घेरामा परेको सुनेपछि शिकारीहरु पुगे । निकै घण्टाको मेहनत पछि मार्न सफल भयो, त्यो बघिनी रहेछ ।
सातौ दिन – एउटा चितुवा र एउटा भालु मार्न सफल भए । आठौ दिनको बिहानै प्रिन्सले एउटा गोमन साँप मारे । यो दिन प्रिन्सको शिकारको अन्तिम दिन थियो । दिनमा अर्को एक बाघको शिकार गर्न सक्षम भए । शिकारबाट फर्कदा साँझको ६ बजिसकेको थियो । फर्किने बेला भइसकेको हुँदा सबै हतारमा थिए । सबैले बिदावारी लिन थाले प्रिन्सको रेल ठिक साढे छ बजे छुट्नुपर्ने थियो । तसर्थ प्रिन्स हतारमा पुगिसकेका थिए । यता श्री ३ महाराजा तथा छोरा केशर शम्शेर पनि भिखना ठोरी पुगिसकेका थिए । प्रिन्सको ट्रेन ठिक समयमा नै छुट्यो । यसरी प्रिन्स अफ वेल्स एडवर्डको नेपालको शिकार पनि सकियो ।
प्रिन्स अफ वेल्सको नेपालको शिकार यात्राको करिव २ वर्ष पछि नेपाल र बेलायत बिच एउटा अर्को सम्झौता भयो । जसका अनुसार बेलायत र नेपालले एक अर्काको शान्ती तथा मैत्री कायम राख्ने । साथै आन्तरिक र बाह्य स्वतन्त्रताको सम्मान गर्ने । सुगौली सन्धि लगायत १८७२ यताका अन्य सन्धि र सम्झौताहरुलाई यस सन्धिले खारेज हुने । नेपाल सरकारले बिदेशबाट मगाएका सामानमा भारतीय बन्दरगाहमा कुनै पनि किसिमको भन्सार नलाग्ने आदि बुँदाहरु उल्लेख गरिएको थियो । तर पछि मोहनशम्शेरको समयमा हतार हतार स्वतन्त्र भइसकेको भारतले सन १९५० को सन्धि गरेर यसमा भएका बुँदाहरुलाई निस्तेज पारिदिए ।
भनिन्छ प्रेम अन्धो हुन्छ । प्रेमको गहिराईमा डुबिसकेपछि जायज/नाजायज, धर्म/अधर्म, पाप/पुण्य वा सत्य/असत्य सबै त्यागेको हुन्छ । उसको अगाडी केवल उसको प्रेमी वा प्रेमिका मात्र हुने गर्छ । जसको लागी उसले संसार बिर्सेको हुन्छ । यो केवल कथा कहानीको पात्रमा मात्र होइन वास्तविक जीवनमा पनि हुने गर्छ ।
यस्तै कथा नेपालमा शिकार खेल्न आएका प्रिन्स अफ वेल्सको पनि छ । युवराज छदै बिबाहित युवतीसंग बिबाह गरेका युवराज एडवर्ड १६ वर्षे बैबाहिक जीवन पछि एउटी अर्की बिबाहित महिलाको प्रेममा फस्दछ । अमेरिकामा जन्मेका वेलिस सिम्पसनको साथ बसिरहेका युवराज बि.सं. १९९२ माघ ७ मा बुबा राजा जर्ज पाचौको मृत्यु पछि राजा एडवर्ड आठौ बने । उनले वेलिस सिम्पसनसंग नै बिबाहको सोच बनाए ।
राजा बनेपछि उ प्रतिको बिरोधको भावहरु बढ्दै गयो । अमेरिकी नागरिक रहेकी वेलिस सिम्पसनलाई रानी स्विकार्न धेरैले चाहेका थिएनन् । उनले बिभिन्न कानुनहरु बनाउदै आफूलाई शक्तिवान बनाउने सोच बनाउन थाले । तर यसले झन उल्टो असर गर्यो । वेलिस सिम्पसन माथी जर्मनको जासुस भएको आरोप पनि लाग्यो ।
अन्तमा राजा एडवर्ड आठौ सामु अप्ठेरो परिस्थिती सिर्जना भयो । कि उनले वेलिसलाई त्याग्ने वा बिबाह गर्ने र राज्य त्याग्ने वा मन्त्रीमण्डलको राजिनामा पछि सिर्जिने समस्यालाई झेल्ने । धेरै सोच पछि उनले आफ्नी प्रेमिकालाई त्याग्न नसक्ने निर्णय गरे ।
अन्तत बि.सं. १९९३ मंसिर २५ गतेको बिहान १० बजे उनले राजगद्दी त्यागेको घोषणा गर्दै राजिनामा बुझाए । सो पत्रमा तीन जना भाईहरुले पनि साक्षीको रुपमा हस्ताक्षर गरेका थिए । यस पछि उनका भाई अल्बर्ट राजा जर्ज छैठौ बने । जो अहिलेका बेलायती महारानी एलिजाबेथ दिवतियका बाबु हुन् ।
राज्य त्यागे पछि एडवर्ड ड्युक अफ विन्डसरको रुपमा आफ्नो जीवन बिताउन लागे । यसको केही समय पछि जेठ २१, १९९४ मा एडवर्डले वेलिससंग बिबाह गरे । बिबाहको केही समय पछि नै राजा बनेका आफ्नो भाईले उनको राजकिय सम्मानहरु खोसे । साथै उनले देश छोडेर फ्रान्स गए । पछि आफ्नो सम्पूर्ण जीवन अमेरिकाको मियामी नजिकैको सानो टापु बाहामाजमा बिताए । त्यही उनको २०२९ जेठ १५ मा निधन भयो ।