ए साथी (कविता)

0
1973

ए साथी !

मैले तिमीसँग
मात्र मित्रताको सम्बन्ध
गाँसेको छु
मेरो जिन्दगीको निर्णय गर्ने
अधिकार दिएको छैन

म तिमीलाई माया गर्छु
म तिम्रा भावनाको कदर गर्छु
म तिम्रा आान्तरिक वेदना
महसुस गर्छु

किनकि
तिमी पनि म जस्तै एक नारी हौ ।
तर
किन
तिमीले मलाई
प्रेम गर्न जानिनौ
मेरा भावनाको
कदर गर्न जानिनौ

मेरा वेदनालाई
महसुस गर्न सिकिनौ
म पनि त तिमी जस्तै
एक नारी न हुँ।

तिमीलाई थाहा थियो नै
म वर्तमानमा रमाएर
उज्ज्वल भविष्यको
कल्पना गर्ने मान्छे

तर …..
किन
तिमीले मलाई एउटा
अतीतको बूढो रूखमा
बाँध्ने प्रयास गर्‍यौ

म भित्रभित्रै चर्किन्छु
तिम्रा साँगुरिएका विचारधाराबाट
म भित्रभित्रै पिल्सिन्छु

म यतिसम्म जमेँ कि…
मेरा वेदना
आँशु बनेर आँखासम्म आए
तर …
पग्लिएर बाहिर आउन सकेनन्

बोल्नुभन्दा अघि सोच्नु
भन्छन् –

मुखबाट बोली
बन्दुकबाट गोली

आत्माबाट प्राण
फेरि फर्कन्न रे

तिमीले तिम्रो छायाँको
अपमान नगर साथी
तिमीले मलाई,
मैले तिमीलाई
आदर गरेमात्र
समाजमा हाम्रो मोल बढ्ने छ
हाम्रा मुस्कान खिल्ने छन् ।।

 

-कुसुम गौतम
म्यान्मा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here